काठमाडौं / पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । यस्तै, कोभिड नियन्त्रणसम्बन्धी आदेश जारी भएको छ ।
मन्त्रिपरिषद बैठकको निर्णय अनुसार भौतिक कक्षा सञ्चालनको विकल्पमा अनलाइन प्रणालीमार्फत पठपाठन गर्नुपर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले बैशाख मसान्तसम्म शहरी क्षेत्रको सम्पूर्ण विद्यालय बन्द गर्न पटक पटक आग्रह गरेपनि शिक्षा मन्त्रालय र सरोकारवालाहरुले बन्दाबन्दीको विकल्प खोज्नु पर्ने बताउँदै आएका थिए ।





















